डाक्टर सा’प मेरो छोरी मार्देउन



डाक्टर सा’प मेरो छोरी मार्देउन

सूर्य सुवेदी ,आजभोलि एकथरी मान्छे डक्टरहरूलाई मान्छे मार्ने लाइसेन्स लिएको समाजको एक कलंकित वर्गको हिसाबमा चित्रण गर्न व्यस्त छन् । डक्टरलाई समाजको सबैभन्दा अब्बल नागरिकको हिसाबमपनि यही समाजले राख्दै आएको छ । आफू र आफन्तलाई शारीरिक रुपमा अफ्ठ्यारो पर्दा यिनै डक्टर गुहार्ने नागरिकहरू किन तिनै डाक्टरी पेशालाई अपव्याख्या गरिरहे छन् । यो विषयवस्तुलाई गहन रुपमा अध्ययन गर्न जरुरी देखिन्छ । पहिला पहिला उपचारको क्रममा बिरामीको मृत्यु भए अस्पतालका नाम मात्र मुछिने गथ्र्याे ।

तर, निजी अस्पतालहरूले आफ्नो अस्पतालको गरिमा र लोकप्रियता नघटोस् भनेर उपचारको क्रममा मृत्यु भएका बिरामीका आफन्तलाई गुपचाप रुपमा दिने गरेको आकर्षक र मोटो रकमले गर्दा कतिपय बिरामीका आफन्त सके बिमारी ठीक पारेर लाने नभए दिवंगत व्यक्तिको ठाउँमा पैसा लिएर जानेसम्मको मनस्थितिमा पुगेका छन् । जसले गर्दा पहिला पहिला अस्पतालको नाम मुछिने केसहरूमा आजभोलि सम्बन्धीत डाक्टरहरूलाई नै प्रत्यक्ष रुपम मुछ्न थालियो र चिकित्सकहरूको न्यायालयसम्म जान पाउने ढोका बन्द गरियो । साथै उनीहरूमा आक्रोशित भिड र अस्पताल प्रशासनको निर्णयलाई सर्वाेपरी ठानेर बस्नु पर्ने बाध्यता छ । जति खर्च गरेर पढे पनि सरकारी तलबबाट जीवन धान्न मुस्किलमा रहेका डाक्टरहरू निजी अस्पतालसँगको सम्बन्ध तोड्न सक्ने क्षमता राख्दैन ।

किनकी उनीहरूले समाजले दिएको अब्बल दर्जाको नागरिकको पदबीको पनि सुरक्षा गर्नुछ । एउटा डक्टरले सामान्य मान्छे भन्दा फरक देखिनु पर्ने बाध्यता यही समाजले पारेको छ खानपिन, लवाईखवाई साथै यातायातको उपयोग पनि फरक किसिमले गर्नुपर्ने हुँदा समाजले दिएको अब्बल दर्जालाई जोगाउन पनि डाक्टरलाई मुस्किल छ । प्रसंग बदलौं के डाक्टरहरू साँच्चै जानीजानी मान्छे मार्छन त । अरु देशहरूमा मानव अंग चोरीको शिलशिलामा यस्ता घटना भए पनि नेपालमा त्यस्तो सम्भावना छैन । डक्टरलाई आफ्नो बिरामी मारेर के फाइदा हुन्छ ? के उसले पैसा कमाउँछ ? कमाउदैँन । के उसले समाजले दिएको इज्जत कमाउँछ ? कमाउदैँन । अनि किन डक्टरलाई हामी यो आरोप लगाई रहेका छौं ? डाक्टर पनि हामी जस्तंै एउटा मानिस हो ।

उ अध्ययन र तालिमका भरमा एउटा बिरामीलाई बचाउने प्रयास गर्छ । डाक्टर पनि मान्छे हो । उसमा पनि मानविय त्रुटि हुन सक्छन् । मुर्तिकारले बनाएको सबै मुर्ति मुर्ति नबन्न सक्छन् । कुमालेले बनाउने घैंटो सबै घैंटो नबन्न पनि सक्छन् । यस्तै डाक्टरहरूले गरेका उपचार र सर्जरी पनि सबै सफल नहुन सक्छन् । डाक्टरले पनि अन्य पेशाकर्मीले जस्तैं आफ्नो सिपको भरपुर प्रयोग गर्ने मात्रै हो । डाक्टरको एउटा असफलताले उसको हजारौं सफलतालाई निमिट्यान्न पार्नु कत्तिको जायज हुन्छ ? यो विषयमा मनन् गर्नु पर्छ । कुनै दिन पङ्क्तिकार आफंैले जन्माएको छोरी मारिदिएको हुन्थ्यो भनेर डक्टरकोमा पुगेको थियो । छोरीको रोगको जटिलता र आफ्नो कम्जोर आर्थिक अवस्थाले गर्दा मलाई त्यस्तो सोच्न बाध्य बनाएको थियो । मेरो छोरीमा संसारमा विरलै देखिने ‘भेन अफ ग्यालेन एनोरिजम’ थियो । दिनानु दिन आफैंले थाहा पाउने गरेर छोरीको टाउको ठूलो हुँदै गएको थियो ।

जटिलता यस्तो थियो की एनोरिजम फुटे ‘ब्रेन ह्याम्रेज’ भएर मर्ने र एनोरिजम नफुटे ‘हार्ट अट्याक’ भएर मर्ने । मर्नु बाहेक मेरो छोरीको विकल्प थिएन । मैले डाक्टर उपेन्द्र देवकोटादेखि भारत, बेलायतहुँदै अमेरिकाको न्यूयोर्कस्थित बोस्टर्न चिल्ड्रेन अस्पतालमा समेत इन्क्वाइरी गरेँ । डा. देवकोटाले त छोरीको रिपोर्ट हेर्ने बित्तिकै मलाई सोध्नु भयो काठमाडौँमा तपाईंको कति रोपनी जग्गा छ भनेर । मैले छैन भने पछि तपाईंको यस्तै भाग्य रहेछ जस्तो पर्छ त्यही सहेर बस्नुस भन्नु भयो । मैले उहाँलाई अनुनय विनय गरे तर अप्रेसन गर्न मान्नु भएन । मैले अन्त्यमा उहाँलाई सर मेरो छोरी यस्तै जन्मि कमसे कम तपाईंले प्रयास गर्नुस् । मेरो छोरी ‘एक्स्पेरिमेन्ट’को लागि दिन्छु । किनकी मेरो छोरीको कारण पछि यस्तो समस्या लिएर जन्मेका बच्चा मर्नु नपरोस । तर, पनि उहाँ मान्नु भएन । उहाँ त पुरै पैसाको खेती गर्नु हुँदोरहेछ ।

भारतमा यो रोग उपचारका लागि ६० लाख आइसी लाग्ने हिसाब देखियो । न्यूयोर्क र बेलायतका अस्पतालले उपचार धेरै महँगो हुने भएकाले सक्नु हुन्न भने । मेरो सबै आशा र विश्वास टुटँे । छोरीको दिनदिनैको अवस्था देख्दा असह्य पीडा हुन्थ्यो । निदाउनको लागि दिनहुँ मदिरा सेवन गर्थे । घर परिवार पुरै लथालिंङ्ग थियो । न्यूरो सर्जरीका अब्बल मानिएका डाक्टर गोपालरमन शर्मा र उहाँका चेला डाक्टर केआई सिंह केसीसँग भेटेपछि झन् होस उड्यो । छोरीको केस कति जटिल रहेछ की अप्रेशन थियटरबाट फर्कने सम्भावना शून्य थियो । मैले उहाँहरूलाई धेरै ‘रिक्वेस्ट’ गरे । ‘सर, कम्तीमा अप्रेशन त गरिदिनुहोस् ।’ छोरी जम्मा १४ महिनाको थिई । यस्तो समस्या भएका बच्चा यो उमेरसम्म बाँच्नु पनि अचम्म रहेछ । अन्त्यमा उहाँहरू राजी हुनुभयो । तर, अप्रेशनमा प्रयोग हुने सामान र डाक्टर चीनबाट बोलाउनु पर्ने भयो ।

म केमा खुसी भए भने छोरी त बाँच्दिन । तर, छोरी मरे पनि समाजले उपचारविनै मार्याे भन्ने कलंक चाही मेटिने भयो । डा. शर्मा, डा. केसीले चीनबाट डाक्टर र अवश्यक सामाग्री मगाउनु भयो । चिनियाँ टोलीसहित डाक्टर शर्मा, डाक्टर केसी साथै डा. पपन शुल्तानिया, डा. प्रकाश विष्टलगायतको टोलीले करिब १६ घन्टा लगाएर अप्रेशन गर्याे । भाग्य बल्झियो, डाक्टरहरूको मिहिनतले अचम्मै भयो । चमत्कारै भयो । मेरो छोरी बाँची । न्यूरो सर्जरीमै चमत्कार भयो । यो घटना सम्पूर्ण मिडियामा ‘कभर स्टोरी’ बन्यो । यो सन् ०१३ को जनवरी महिनाको कुरा हो । छोरी अहिले ६ वर्षको भईन । यूकेजीमा पढ्छिन् । दिमाग पनि अचम्मकै छ । चाइनिज प्रोफेसरले चाइनिज नाम राख्छु भनेका छन् । अलि अगाडि नेपाल आएका ती प्रोफेसरले भेटेर गए । डाक्टर शर्मा र डाक्टर केसी सधंै सोध्नु हुन्छ ।

र अन्त्यमा, यो बिषयवस्तु मैले किन उठाए भने डाक्टरले मानविय गल्ती गरे पनि संसारमा एकाध नियतबस घटना भए पनि नेपाली डाक्टरहरूले जानिजानि मान्छे मार्दैनन् । समाजको अब्बल नागरिक करोडौं खर्च गरेर त्यसपछि पनि अथक मिहिनेतपछि कमाएको इज्जत, मान प्रतिष्ठा, घर, परिवार, समाज जानिजानि लहडको भरमा कसले तोड्न सक्छ । तेसैले म त डाक्टरको सम्मान गर्छु । तपार्इंहरू पनि आउनुहोस् हातेमालो गरौं । (लेखक सुवेदी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष हुन् ।Hamro Doctor dot com

Comments