संसदबाट जाँदाजाँदै सभामुखको भावुक मन्तव्य



काठमाडौँ । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्की सभामुख ओनसरी घर्ती मगरले भावुक मन्तव्य दिँदै संसद्बाट विदा भएकी छन् । शनिबार राति १२ बजेबाट संसद्को अवधि सकिने भएपछि उनले संसद्मा अन्तिम भाषण दिँदै विदा मागेकी हुन् ।

संसदमा अन्तिम सम्बोधनका क्रममा भावुक हुँदै आफ्नो कार्यकालमा भएका केही सकारात्मक कामलार्इ सम्झिन पनि भ्याइन् । सभामुख घर्तीले भाडामा लिएको संसद् भवनमा काम गर्न समस्या भएको बताउँदै संसद् भवन र सांसद्हरुलाई आवास बनाउन गरेको प्रयास सफल हुन नसकेकोमा दुःख व्यक्त गरिन् । आफ्नो कार्यकालमा थालिउका यी कामले भावी दिनमा पूर्णता पाउने विश्वास सभामुखले व्यक्त गरेकी छन् ।

घर्तीले आफू सभामुखमा निर्वाचित हुँदा महिलासँगै आदिवासी जनजाति र विपन्न समुदाय खुशी भएको बताउँदै उनीहरुको खुशी अनुसारको काम गर्न सकेकोमा सन्तोषको श्वास फेरिन् ।

आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, कानुनी समस्य सहज बनाउन सुझाव दिने सांसद्हरु, पत्रकार, कर्मचारीहरू र पेशागत संगठनसहितलाई पनि उनले विशेष धन्यवाद दिइन् ।

उनले आफूले संसद् छाड्दा दुःख नलागेको बताउँदै जिम्मेवारी पूरा गरेर फर्किन पाएकोमा खुशी लागेको बताइन् । सभामुख घर्तीले संसद्को बैठक सकिएको घोषणा गरेसँगै सांसद्हरु रात्रिभोजमा जुटेका छन् ।

शनिबार, अशोज २८, २०७४ मा प्रकाशित

Comments