माओवादी केन्द्रको यस्तो निर्णयले देउवालाई तनाव



काठमाण्डु, २८ असोज – माओवादी केन्द्रले तत्काललाई सरकारबाट आफ्ना मन्त्री नबोलाउने निर्णय गरेको छ ।





पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउने तथा संविधान कार्यान्वयन गराउने दायित्वका साथ सरकार गठन भएको ठहर गर्दै सो कार्यभारबाट विमुख हुन नहुने निष्कर्ष निकालेको छ । बैठकपछि प्रवक्ता पम्फा भुसालले राष्ट्रिय दायित्वबाट पार्टी पछाडि हट्न नहुने बताइन् ।

बैठकमा निर्वाचनको संघारमा नै प्रधानमन्त्रीले उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री नियुक्त गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको निष्कर्ष निकालेको छ । निर्वाचन सम्पन्न गराउन पार्टी सरकारबाट हट्ने भन्ने कुरा हुन नसक्ने जनाउँदै माओवादी केन्द्रले निर्वाचन सम्पन्न गराउने शर्तमा मात्रै आफू सहभागी भइरहन जरुरी रहेको बताएको छ ।

नेकपा एमालेसँग वाम गठबन्धन गर्ने निर्णयपछि नेपाली काँग्रेसले माओवादीले नैतिकताका आधारमा सरकार छाडिदिनुपर्ने बताउँदै आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सरकार विस्तार गरेपछि माओवादी केन्द्र सरकारमा रहने कि नरहनेमा भन्नेमा द्विविधा देखिँदै आएको थियो ।

प्रधानमन्त्रीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री र अन्य तीन नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । उनीहरुको सपथ भने हुन बाँकी छ ।

प्रधानमन्त्रीको उक्त निर्णयपछि शनिबार बसेको माओवादी केन्द्रको सचिवालय बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रधानमन्त्रीको निर्णय तथा उम्मेदवार छनोटका विषयमा समेत छलफल भएको थियो । प्रवक्ता भुसालले मुलुकको समसामयिक राजनीतिक विषयमा गहन छलफल भएको जानकारी दिइन् ।

यस्तै उम्मेदवार छनोट तथा निर्वाचनको तयारीका बारेमा समेत छलफल केन्द्रित रहेको उनको भनाइ छ ।

माअ‍ोवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद विस्तार आचार संहिता विपरीत भएको बताएका छन् ।

‘हामी तोकिएको समयमा चुनाव चाहन्छौं त्यसैले अहिले सरकारबाट फिर्ता हुँदैनौं र समर्थन पनि फिर्ता हुँदैन’, उनले भने, ‘नयाँ मन्त्रीहरुको नियुक्ति आचार संहिता विपरीत छ । कामचलाऊ सरकारले यसरी मन्त्रिपरिषद विस्तार गर्न मिल्दैन ।’ राससको सहयोगमा

Comments